वृत्तक



1

ईश्वरझैं
पुजिन थालेछौ भने
मर्दैनौ पनि होला

बाँच्नेछौ तिमी
लामो र चिसो मृत्यु
ईश्वरझैं

2

अझै थपिन्छ
कोठामा चकमन्नता
रातमा गह्रुँगोपन

तिमीले बल गरेर खोक्दा
मनमा पीर
थपिन्छ अझै

3
यहाँबाट
नअग्लिनू ए इच्छा

अब अग्लिन्छु म
यहाँबाट

4
फूल त
फेरि फुलेछ
झरेर पनि
फेरि फुलेछ
फूल त

5
पातमा शीत
जसरी
धर्तीमा
हामी
शीत पातमा

6
सकिएपछि
शब्द
सुन्नू आफैलाई
शब्द
सकिएपछि

7
अलिकति आकाश
सबैको हुन्छ
अलिकति अम्मलझैं
सबैको हुन्छ
आकाश अलिकति

8
अन्यमनस्क तिमी
त्यो रूखझैं
न केही भन्छौ
न केही सुन्छौ
न जान्छौ कतै
त्यो रूखझैं

तिमी अन्यमनस्क

9
गाइनेको गीत
गुञ्जिरह्यो
भिरले छेलिएर पनि

कानमा गुञ्जियो
गुञ्जिबस्यो
गीत गाइनेको

10
जाँदाजाँदै
सोचें
-फर्कनुछ

गएपछि
फर्कनुसकिएला के
सोचें
जाँदाजाँदै

11
कतै पनि
जन्मिनसक्छ लहर

पुग्नसक्छ त्यो
कतै पनि

12
यो अनुहारभरि
पैंतालाका डोबहरू छन्

यत्रो यात्रा कसको यसरी
अनुहारभरि यो
13
मेरो गीत
गाऊ-नगाऊ
गाउनेछ तिमीलाई नै
मेरो गीत

14
हतारहतार
जीवन सडकझैं लम्पासार
सडकमाथि गाडीझैं
गाडीझैं कुद्छ जीवाइँ
हतारहतार


15
भिजेको परेलीबाट
नहेर्नू त त्यसरी

थाहै भएन
अचानक हेराइ पनि
परेलीबाट भिजेको

16
हेर्दैपछि
नयाँ अनुहार
पुरानै आकाशको
हेर्दैपछि

17
होइनहरू, होहरू
हो पनि, होइन पनि
मलाई विश्वास गर्नुहोस्
पुष्टिका लागि तर्क छैन कसैसँग
होइन पनि, हो पनि
होहरू, होइनहरू


18
हिँड्नेलाई
पर्वाह हुँदैन बस्नेहरूको

डर लाग्दैन ठेसहरूको
हिँड्नेलाई


19
उनको झूठ पनि
उनीजस्तै सज्जन देखिन्छ

उनीजस्तै बूढो भइसक्यो
उनको झूठ पनि

20
मेरो गीत
गाऊ-नगाऊ
तिमी पनि
मेरो गीत

21
बिहानले आङ तान्दै गर्दा
उघ्रिएछ आँखा

उनले त आङ तान्नै पाउँदिनन्
बिहानले आङ तान्दै गर्दा

22
बम
कविता हुँदैन

कविता कहिलेकाहीँ भइदिन्छ
बम

23
शून्य छु म अहिले
शून्य
शून्य
शून्य
पानी पर्दै गर्दा

आँखा भिज्दै गर्दा
शून्य
शून्य
शून्य
अहिले म छु शून्य


24
पानी नरोकुञ्जेल
ओत लागेर बस स्टपमा
गाइरहें उनको गीत मनमनै

मनमनै बात मारिरहें उनीसँग
ओत लागेर बस स्टपमा
पानी नरोकुञ्जेल

25
भनेपछि
अझ नबुझिने
बुझिने कुराहरू कुनैकुनै

सुनिने कुराहरू कतै केही
अझ नसुनिने
भनेपछि

26
छोई हेर न
अझ पनि यो
ढुकढुकिरहेको छ

जियालै हुन्छ है सपना त
एक्कैपल्ट
छोइ हेर न

27
यो गीत सुन्दा
कुनै भक्कानो बल्झिन्छ उनीभित्र

कुनै याद उभिदिन्छ उनीबाहिर
यो गीत सुन्दा

28
बाहिरबाट
जे देखिन्छ
त्यो छैन उस्तो भित्रबाट

भित्रबाट देखिएकोहरू
देखिँदैन ठ्याम्मै
बाहिरबाट

29
थाहा छ
मलाई नै
म छु कति पानीमा

कहाँनेर चुक्नु हुने थिएन
मलाई त्यो पनि राम्ररी नै
थाहा छ

30
नबोलेरै
उ कति बोल्छ

कति कति सुन्दो हो
नबोलेरै

31
किनारै किनार
कोही गयो पुल्ठो बालेर गुनगुनाउँदै

कोही सुकसुकाउँदै आएको थियो
किनारै किनार

32
ताराहरू त्यस रात
थिएनन् आकाशमा

सबै धर्तीमा झरेका थिए कि
ताराहरू त्यस रात

33
बुझ्नु छ
तपाईंलाई

तपाईं बुझ्दै
म आफैलाई
बुझ्नु छ

34
जनता न हो
थाहा पाउँछै पाउँछ
ढीलोछिटो

एक न एक दिन
पल्टाउँछै पल्टाउँछ
जनता न हो

35
बाटो त बल्ल शुरू
हिँड्न त निकै हिँडियो

यहीँनेर टुँगिएछ बाटो
बाटो त बल्ल शुरू

36
र पनि
सङ्कट कति बलियो

मान्छे बाँचिछाड्छ
र पनि

37
छटपटिरहेको छ
मान्छे
पानी बिनाको माछाझैं

हठात् पड्किनलाई
युग
छटपटिरहेको छ

38
उनीहरू ढाँट्दैछन्
अँध्यारोलाई उज्यालो भनेर

काँचुली फेर्नुलाई
नवजन्म भनेर
ढाँट्दैछन् उनीहरू

39
मन्त्री महोदय
तपाईं जेलाई शान्ति भन्नुहुँदैछ
त्यो त माचिसको सिन्का हो

तपाईंहरूको घरको चुह्ला जल्ने
यही माचिसको सिन्काले
तपाईंहरूको घर पनि जल्ला है
मन्त्री महोदय

40
अहिले
हिँड्न सिकौं न
हिँडौं त
लु हिँडी पनि हालौं

कुदिजान पछि सिकौं
उडिजान पनि पछि नै

हिँड्न सिकौं हिँड्न
अहिले

41
पर्ख न
पर्ख अरूलाई
पर्ख आफैलाई

मात्र पछि नफर्क
पर्ख न


42

जल्दैछ जुलुलु
घर, आकाश र नाम

बाँच्नलाई
मर्नुपर्छ चिह्नारीले
घरिघरि

चिह्नारी अहिले
जुलुलु जल्दैछ

43

पैह्रोको घाउ
मुसार्छ मात्र दार्जीलिङ
रूँदैन

घाउ भन्छ-
रुँदिनन् मेरी आमा

पाक्दैछ
घाउ पैह्रोको


वृत्तक

44
कहाँ जाँदैछौ
निल्दै
निस्तो गाँसहरू

निस्तो पलहरू
छाद्दै
कहाँ जाँदैछौ


45
एउटा जुलूस छ यहाँ
स्मृतिको औंलीले
पोखरीको गाला छोएर
समयका लहरहरू
यहाँ छ जुलूस एउटा


46
कोहीहरूको ईशारामा
हावा चल्दैछ
पानी बग्दैछ
झण्डा फरफरिँदैछ
मान्छे बरबरिँदैछ
कोहीहरूको ईशारामा


47
दैलोहरू भएर
बाटोहरू भित्रिन्छन्
कहाँ-कहाँसम्म पुग्नलाई
यात्राहरू निस्किन्छन्
दैलोहरू भएर


48
पर्खिरहेको मान्छे
आफूले चाहिँ पर्खिएर
अरूलाई नपर्खने सल्लाह दिन्छ

पर्खिन नसकी अरूलाई
हुन्छ पर्खिरहेकै आफूलाई
पर्खिरहेको मान्छे


49
उसको आवाजभित्र
के को आकार त्यस्तो
कताकता संसारझैं
कसोकसो निस्सारझैं

कसोकसो विचारझैं
कताकता सरोकारझैं
के हो त्यो निराकार
उसको आवाजभित्र

50
छपलक्क
के खस्यो
पानीमा
यो निस्सार रात
भोगिबसेको बेला

रेटिँदै गरेको बेला
यो निर्विकार गीत
मनमा
के को आकार
छपलक्क 

51
किताबभित्र
ओइलिएको फूलमात्र
जोडिन्छ स्मृतिमा

अलगावले ग्रस्त
लाखौंलाख शब्दहरू
किताबभित्र